राष्ट्रपति पौडेलद्वारा तनहुँको ऐतिहासिक खड्गकालिका मन्दिरको उद्घाटन
तनहुँ | बैशाख ३, २०८१
तनहुँः राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–११ तनहुँसुरमा अवस्थित ऐतिहासिक खड्गकालिका मन्दिरको आज उद्घाटन गर्नुभएको छ । सप्ताहव्यापी विश्वसम्पदा दिवसका अवसरमा आज तनहुँमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले उक्त मन्दिरको उद्घाटन गर्नुभएको हो ।
पुरातत्व विभागको आर्थिक सहयोगमा वि. सं २०७८ चैतदेखि पुनर्निर्माण सुरु भएको ऐतिहासिक महत्वको मन्दिर उद्घाटनका लागि पौडेल आजै गृह जिल्ला आइपुग्नुभएको थियो । कार्यक्रममा संविधानसभाका सदस्य रामचन्द्र पोख्रेल, गण्डकी प्रदेशसभाका सदस्य अशोककुमार श्रेष्ठ, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलगायत सहभागी हुनुहुन्थ्यो ।
सन् १६७५ तिरका पाल्पाका शक्तिशाली राजा मुकुन्दसेनले शासन गरेको तनहुँसुरमा जीर्ण अवस्थामा रहेको खड्गकालिका मन्दिर रु ५० लाखको लागतमा पुनर्निर्माण सुरु गरिएको थियो ।
तनहुँसुरमा रहेको दरबारको वि. सं २०७६ मा पुरातत्व विभागले उत्खनन् गरेको थियो । सोही दरबारको नजिकै रहेको खड्गदेवी मन्दिरको पुनर्निर्माण गरिएको हो । जीर्ण अवस्थामा रहेको मन्दिर पुरानै शैलीमा पुनर्निर्माण गरिएको वडाध्यक्ष दलबहादुर दुराले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त मन्दिरमा तत्कालीन सेन वंशीय राजाले पूजाआजा गर्ने गरेको किंवदन्ती छ ।
खड्गकालिकाको शेषका रुपमा तनहुँको व्यास–४ दमौलीमा पनि तनहुँ कालिका मन्दिर निर्माण गरिएको छ ।
तनहुँ जिल्लाको नाम तनहुँसुरबाट अप्रभंस भएर रहेको भन्ने किंवदन्ती छ । पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्ना जेठा छोरा भृङ्गीसेनलाई सन् १६१० मा तनहुँमा राज्य सञ्चालन गर्न पठाएको र उनी पछिका आठ सेनवंशी राजाले दुई सय ३० वर्ष तनहुँसुरबाट राज्य सञ्चालन गरेको इतिहास रहेको छ ।
तनहुँसुर दरबारका अवशेष, राजपरिवारले प्रयोग गरेका किल्ला र गढीहरु, धारा, तोप तथा अन्य हातहतियार, बारुदीखाना, राजाले न्यायनिसाफ तथा कचहरी सञ्चालन गर्ने गद्दीचौतारा, साउने कुवा, कुँडापानी, बाइससिंढी चौतारी, ढुङ्गेसाँगु, फूलपाती ढुङ्गा, रानीपोखरी, धर्मशाला, रानीबगैँचा, भगवती पानी मन्दिर यहाँका पर्यटकीय सम्पदा हुन् ।
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

